नवलपरासीका ७० मतदानकेन्द्रका लागि हेलिकप्टर तयारी अवस्थामा

Posted on: 27 Jun, 2017


असार १३, नवलपरासी । सुरक्षा निकायले नवलपरासीमा ७० वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकेको छ । 

७० वटै अति संवेदनशिल मतदानकेन्द्रको सुरक्षाकालागि विषेश सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरीले अति संवेदनशिल मानिएका ति मतदान केन्द्रको भित्रि सुरक्षाकालागि प्रहरी निरिक्षक वा सईको कमाण्डमा ७ जनादेखि ११ जना प्रहरी र त्यति नै संख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । 

बाहिरी घेरमा सशस्त्र प्रहरी र सेना परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धानका घुमुवाहरुलाई एक साता अघिदेखि नै अतिसंवेदनशिल क्षेत्रमा खटाइएको छ । मतदानकेन्द्रबाट केही टाढा सेनालाई राखिएको छ । अति संवेदनशिल क्षेत्रमा गत शनिबारबाट २४ सै घण्टा गस्ति बढाइएको प्रहरीको भनाई छ । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अति संवेदनशिल क्षेत्रकालागि आवश्यक परेमा हेलिकप्टरबाट गस्ति गर्ने र विषेश सुरक्षाकर्मी झार्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले सुरक्षाकर्मीको विषेश टोलीसहितको हेलीकप्टर बुटवलमा तैयारी अवस्थामा राखिएको र आवश्यक पर्दा परिचालन गर्न सकिने जानकारी दिए । 

उनले निर्वाचनमा मतदाता सुरक्षाकालागि सेनाको बख्तरबन्द गाडी र सशस्त्र र प्रहरीको फरक फरक मोवाइल गस्ती नियमित रहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारीका अनुसार ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा रहेका २ सय ४० मतदान केन्द्रकालागि करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

आइतबार सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरेर ७ जना घाइते हुने गरी बम बिस्फोट गराइएपछि नवलपरासीमा विषेश सुरक्षा व्यवस्था मिलाउन परेको प्रहरीको भनाई छ । 

निर्वाचनकालागि नवलपरासीका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा अति संवेदनशिल केन्द्रमा सदरमुकाम रामग्राम नगरपालिकाकै दक्षिणी भेगका मतदानकेन्द्र समेत रहेका छन् । सदरमुकाम बाहेक सुस्ता, प्रतापपुर, पाल्हीनन्दन गाउँपालिकाका मतदानकेन्द्रलाई अतिसंवेदनशिल मानिएको छ । खासगरी मधेस प्रभावित क्षेत्रका मतदानकेन्द्रलाई सुरक्षा निकायले अति संवेदनशिल क्षेत्र मानेको छ ।   

त्यस्तै सुरक्षाको दृष्टिले संवेदनशिल २७ र सामान्य अवस्थाका २३ मतदानकेन्द्र रहेका छन् । नवलपरासीका १२० स्थानमा २४० मतदानकेन्द्र रहेको छ । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!