माओवादी नेतालाई यस्तो जिम्मेवारी दिइने

Posted on: 26 Jul, 2017

साउन ११, काठमाडौं । माओवादी केन्द्रले लामो समय जिम्मेवारीविहीन आफ्ना नेतालाई विभिन्न जिम्मेवारी सुम्पने तयारी गरेको छ । 

कार्यालय बैठकले ‘बेरोजगार’ नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालयकै दर्जन नेता जिम्मेवारी विहीन भएका थिए ।

केन्द्रीय कार्यालयका सदस्य अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, नारायण शर्मा, लीलामणि पोखरेललगायत नेतासँग यसअघि पार्टीका कुनै जिम्मेवारी थिएन ।

‘केन्द्रीय कार्यालयकै शीर्ष नेताहरुसँग समेत पार्टी कामको जिम्मेवारी थिएन,’ केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले भने, ‘जिम्मेवारीविहीन नेताहरुलाई ठोस जिम्मेवारी बाँडफाँट गर्न लागिएको छ ।’ पार्टीका स्थापित र क्षमतावान नेताहरु नै कामविहीन भएपछि माओवादी केन्द्रको पार्टी संगठन र विभाग नै निष्प्रभावी बन्दै आएको थियो ।

नेतृत्वले पार्टी कार्यालय सदस्यलाई नै काम नदिएपछि अन्य तहका नेतासमेत जिम्मेवारीविहीन भएका थिए ।

माओवादी केन्द्रले पोखरेललाई सरकार, संसद्मा रहेका केही नेतालाई संसदीय दलको प्रमुख सचेतक, रायमाझीलाई निर्वाचन तयराीका लागि गठन गरिने प्राविधिक तयारी समिति, हितराज पाण्डेलाई प्रदेश र संसदीय क्षेत्र निर्धारण समिति गठन गरी जिम्मेवारी दिने तयारी गरेको छ ।

यसैगरी स्कुलिङ, प्रकाशन र प्रचारलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालयबाटै जिम्मेवारी दिन लागेको छ । माओवादीको केन्द्रयि कार्यालयमा ३५ सदस्य छन् ।

संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जबाहेक अन्य नेताको प्रभावकारी भूमिका नदेखिएपछि नेता आफूलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्ट रहँदै आएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!