मन्त्रीको दौडमा को अघि को पछि ? को–को बन्दै छन् मन्त्री ?

Posted on: 26 Jul, 2017

साउन ११, काठमाडौं । सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति हुन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार रोकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयसँग मंगलबार बेलुका ५ बजेको समय लिएको थियो । तर, कांग्रेसका मन्त्रीको नाम निश्चित हुन नसक्दा शपथग्रहण हुन सकेन ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले पौडेल पक्षले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम नदिएपछि मंगलबार सरकार विस्तार हुन नसकेको जानकारी दिए । ‘उहाँहरूले चार मन्त्रीको नाम टुंग्याएर पठाउन नसक्दा सरकार विस्तार रोकिएको हो,’ देउवाले भने, ‘उहाँहरूले नाम पठाएपछि पाउने मन्त्रालयको टुंगो लाग्छ ।’ देउवाले बुधबार १ बजे मन्त्रीहरूको शपथ हुन सक्ने जानकारी दिए ।

२४ जेठमा प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन देउवाले सातजना मन्त्री नियुक्त गरेका थिए । त्यसयता सरकार विस्तार गर्न उनले चारपटकसम्म मिति तय गरेर पनि स्थगित गर्दै आएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै देउवाले असार तेस्रो साता सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, संविधान संशोधनमा केन्द्रित रहने भन्दै सरकार विस्तारलाई पुनः असारको अन्तिम साता सारियो ।

संशोधनमा एमाले र राप्रपाले सहयोग नगर्ने भएपछि उनले साउनको पहिलो साता र त्यसपछि गत बुधबार पनि सरकार विस्तार गर्ने तयारी थियो । तर, संविधान संशोधन पास वा फेल जे भए पनि संसद्मा अघि बढाउन राजपासँग सहमति गर्ने भन्दै फेरि भाका सारियो । राजपाले संशोधनभन्दा पहिले तराई आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता, घाइतेको उपचार, राहत, क्षतिपूर्ति दिने निर्णय भएपछि मात्र संशोधनको विषयमा छलफल गर्ने भनेपछि सरकार विस्तारको प्रयास फेरि सुरु भएको हो । तर, मंगलबार राष्ट्रपति कार्यालयमा समेत तयारी भए पनि पार्टीभित्रकै विवादले मन्त्रिपरिषद् विस्तार हुन सकेन । बुधबार भने शपथग्रहण कार्यक्रम हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकार बन्दा सुरुमा कांग्रेसले १३ मन्त्रालय लिने सहमति थियो । तर, १३ मन्त्रालयमध्ये संस्थापन देउवा पक्षलाई सात, नेता रामचन्द्र पौडेल पक्षलाई चार र कृष्णप्रसाद सिटौला तथा खुमबहादुर खड्का पक्षलाई एक–एक मन्त्रालय दिने देउवाको प्रस्ताव थियो । १३ मध्ये चार मन्त्रालय लिन पौडेल पक्ष पनि तयार भयो । तर, माओवादीसँग देउवाले १५ मन्त्रालय लिएपछि पौडेल पक्ष आफूलाई धोका भएको भनेर बिच्किएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा पौडेल पक्षबाट सीतादेवी यादवले शान्ति तथा पुनर्निर्माण, नवीन्द्रराज जोशीले उद्योग, रोमी गौचनले वाणिज्य, हृदयराम थानीले गरिबी निवारण मन्त्रालय पाएका थिए । यसपटक भने पौडल पक्षले प्रभावशाली मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो पक्षको दाबी छ । तर, प्रधानमन्त्री देउवाले यो मन्त्रालय आफ्नै पक्षधर नेतालाई दिँदै छन् ।

प्रधानमन्त्रीसँग चार मन्त्रालय

उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय

कसलाई कति मन्त्रालय ?

कांग्रेसले १३, माओवादीले नौ, लोकतान्त्रिक फोरमले तीन र नेकपा संयुक्तले एक मन्त्रालय पाएपछि पनि प्रधानमन्त्रीसँग चारवटा मन्त्रालय रहनेछन् । प्रधानमन्त्री देउवा यी चारवटा मन्त्रालय राप्रपालाई सरकारमा सहभागी गराएर दिने पक्षमा छन् । तर, आफूलाई चारवटा मन्त्रालय दिएर फेरि देउवाले आफ्नै गुटका मन्त्री थप्ने हुन् कि भन्ने शंका पौडेल पक्षमा देखिएको छ । यस्तो अवस्थामा थप एक मन्त्रालयमा पौडेल पक्षको दाबी रहने छ ।

मन्त्रीको नाममा पौडेल पक्षमै समस्या

कांग्रेसले पाउने थप १० मन्त्रालयमा देउवा पक्षका चार, पौडेल पक्षका चार, खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला पक्षलाई एक–एक मन्त्रालय दिएर भागबन्डा गरिएको छ । यसअघि देउवा पक्षका तीन नेता मन्त्री भइसकेका छन् । 

पौडेल पक्षले चार मन्त्रालय लिने भए पनि कसलाई पठाउने भन्नेमा पनि विवाद भयो । बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी र सरिता प्रसाईं वा कमला पन्तमध्ये एकलाई मन्त्री बनाउने तयारी पौडेल पक्षले गर्दै आएको थियो । तर, मन्त्रीका लागि बद्री पाण्डे, सञ्जय गौतम, यज्ञबहादुर थापाको पनि दाबेदारी उत्तिकै थियो । मंगलबार दिउँसो बलबहादुर केसीको नाम काटियो । अन्तिममा सरिता प्रसाईं पनि परिनन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले कास्कीका यज्ञबहादुर थापा, काठमाडौंका राजेन्द्रकुमार केसी (राजन), बर्दियाका सञ्जय गौतम र धनुषाका रामकृष्ण यादवलाई मन्त्री बनाउने निर्णय गरेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । चारैजना गत संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । चारमध्ये यादव मात्र केन्द्रीय सदस्य हुन् । आफ्नोतर्फका मन्त्री बन्नेको नाम टुंगिएपछि पौडेल प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका थिए । 

महामन्त्री शशांक कोइराला समानुपातिक सांसदलाई पनि मन्त्री बनाउन पक्षमा थिए । तर, पौडेलले प्रत्यक्षमा जितेकालाई मात्र बनाउनुपर्ने अडान राखेपछि कोइराला पछाडि हटे । ‘महामन्त्री समानुपातिक सांसदलाई पनि मन्त्री बनाउने पक्षमा हुनुहुन्थ्यो, तर वरिष्ठ नेता पौडेलले प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाऔँ भनेपछि असन्तुष्ट भए पनि उहाँले मान्नुभयो,’ महामन्त्री डा. शशांकनिकट स्रोतले भन्यो ।

राष्ट्रपति कार्यालयमा मंगलबार समय लिएर पनि स्थगित, अर्को समय लिइएको छैन

शपथग्रहणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपतिसँग मंगलबार अपराह्न पाँच बजेको समय लिएको थियो । तर, शपथग्रहण कार्यक्रमका लागि प्रधानमन्त्री र नयाँ मन्त्रीहरू जानुको सट्टा कार्यक्रम स्थगित गरिएको जानकारी पठाइयो । ‘मंगलबार बेलुका ५ बजेलाई लिइएको थियो । तर, दिउँसो मन्त्रीको शपथ नहुने जानकारी आयो,’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार मामिलाविज्ञ माधव शर्माले भने, ‘अब कहिले गर्ने भनेर समय लिइएको छैन ।’

माओवादीले सबै मन्त्रीको नाम टुंगो लगायो 

माओवादी केन्द्र

प्रदेश नं. १ : शिवकुमार मण्डल– आपूर्ति

प्रदेश नं. २ : गिरिराजमणि पोखरेल– स्वास्थ्य

प्रदेश नं. ३ : श्यामकुमार श्रेष्ठ– सामान्य प्रशासन

प्रदेश नं. ५ : सन्तकुमार थारू– पशुपक्षी

प्रदेश नं. ६ : महेन्द्रबहादुर शाही– ऊर्जा

प्रदेश नं. ६ : सीता नेपाली– महिला तथा बालबालिका

कांग्रेसबाट को–को बन्दै छन् मन्त्री ?

देउवा पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने भएका छन् । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । भौतिक पूर्वाधारमा बलायर र सूचना तथा सञ्चारमा विश्वकर्मा र जोशीको नाम चर्चामा छ । बस्नेतले पाउने मन्त्रालय टुंगिन बाँकी छ । सिटौला पक्षका भीमसेनदास प्रधानलाई सहकारी तथा गरिबी निवारण र खुमबहादुर खड्का पक्षका मोहन बस्नेतलाई युवा तथा खेलकुदमन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षका राजन केसी खानेपानी तथा सरसफाइ र रामकृष्ण यादव सिँचाइमन्त्री बन्दै छन् । सञ्जय गौतम र यज्ञबहादुर थापालाई दिइने मन्त्रालय बुधबार बिहान टुंगो लाग्नेछ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बुधबार बिहान मात्र मन्त्रालय टुंगो लाग्ने जानकारी दिए । ‘पार्टीले लिने मन्त्रालय टुंगो लागिसके पनि को–को मन्त्री बन्ने भन्ने सबै टुंगिएको छैन,’ परियारले भने, ‘बुधबार बिहान टुंग्याएर दिउँसो १ बजे शपथ गर्ने तयारी छ ।

जितेन्द्र देव र गोपाल दहित फेरि मन्त्री बन्ने

लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दै छन् । देव पर्यटन र दहित भूमिसुधारमन्त्री बन्दै छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री छन् ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालयमा मिथिला चौधरीलाई पठाउने भएको छ । वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय तत्काल प्रधानमन्त्रीसँगै रहनेछन् । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!