जसले पति र नवजात छोरी एकैदिन गुमाइन्

Posted on: 08 Aug, 2017

साउन २४, काठमाडौं । नेनियति खेलै निठुरी । रामेछाप दोरम्बा–५ रजमनटारकी २७ वर्षीया रिमिता श्रेष्ठलाई त्यही नियतिले दोहोरो शोकमा पा¥यो । 

साउन पहिलो सातासम्म सुखैसुख भरिएको उनको जीवन अप्रत्याशित बज्रपातले चोइटिएको छ । पतिको आयु बढाउन प्रायः व्रत बस्ने गरेकी रिमिताले ‘साउनमै पति नै गुमाउनुपर्ला’ भनेर कल्पनासम्म नगर्दै दोस्रो सन्तान पनि गुमाउनुप¥यो । घरमा लगेर न्वारानसमेत गर्न नपाउँदै उनले नवजात शिशुलाई अस्पतालमै गुमाइन् ।

एकैदिन दोहोरो शोक भोग्न बाध्य रिमिता अहिले पति र नवजात छोरीको किरिया बसेकी छिन् । लामो समयदेखि कतार एयरवेजमा सुपरभाइजर रहेका २८ वर्षीय पति इन्द्र श्रेष्ठ गत २८ असारमा काठमाडौं उत्रिएका थिए ।

कोटेश्वरमा अस्थायी रूपमा बस्दै आएकी रिमितामा पतिको आगमनपछि खुसीको सीमा थिएन । बाबुको आँखैअघिल्तिर दोस्रो सन्तान जन्मिने सम्झिँदै उनी दंग थिइन् । तर उनको खुसी पति फर्केको तीन साता पनि टिक्न पाएन ।

इन्द्र काठमाडौं आएको आठौं दिन ललितपुर पाटन अस्पतालमा गत ५ साउनमा दोस्रो सन्तानका रूपमा छोरी जन्मिइन् । मुटुको भल्बमा समस्या देखिएपछि नवजात शिशुलाई पाटन अस्पतालको आईसीयूमा राखियो ।

रातभर सुत्केरी पत्नी रिमितालाई कुर्न पाटन अस्पताल बसेका इन्द्र भोलिपल्ट बिहानै मोटरसाइकल चढेर कोटेश्वर डेरा जाँदै थिए । बालकुमारी पुलबाट कोटेश्वर चोक नपुग्दै नयाँ आकाशे पुलमुनि उनी चढेको बा७२प २४७५ नम्बरको मोटरसाइकल एक्कासि पल्टियो । टाउकोमा गम्भीर चोट लागेर इन्द्र घाइते भए । बिहानै तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कोटेश्वर प्रहरीले उनलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लग्यो । चिकित्सकले उनको उपचार तत्काल सुरु गरे । टाउकोमा जमेको रगत भोलिपल्ट शल्यक्रिया गरी निकालेपछि इन्द्र होसमा आए । केही दिनपछि उनी खान र बोल्न पनि थाले ।

उता, पाटन अस्पतालमा १२ दिन राखेर उपचार गरेपछि पनि नवजात छोरीको स्वास्थ्यमा सुधार नभएपछि तत्काल शल्यक्रियाका लागि १८ साउनमा गंगागाल हृदय केन्द्रमा लगियो । शल्यक्रियाकै क्रममा जन्मेको १४औं दिनमा १९ साउनमा ती नवजात छोरीको मृत्यु भयो ।

काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरी होसमा आएर खानपिन गर्न थालिसकेका इन्द्र अचानक बेहोस भए । उपचार क्रममा उनलाई निमोनिया भएको पत्ता लाग्यो । त्यसको उपचार सुरु नहुँदै १९ साउनमै इन्द्रले पनि यो संसार त्यागे ।रिमितालाई ‘अब १९ साउन कहिल्यै नआओस्’जस्तो भएको छ । सोही दिन उनले पति रछोरी गुमाइन् । मुटुको भल्ब शल्यक्रिया गर्दागर्दै मृत्यु भएकी नवजात छोरीको शनिबार र इन्द्रको पोस्टमार्टमपछि आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । -राजधानी दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!