प्रहरीलाई नक्कली सुन बेच्न खोज्ने रामेछापका युवक पक्राउ

Posted on: 31 Aug, 2017

भदौ १५, काठमाडौं । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । 

रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी सुन किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । 

उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पताल अगाडिबाट उनलाई पक्राउ गरेको हो ।

सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!