रामेछापमा अब खिम्तीकै हिमाल हाइड्रोपावरबाटै बिजुली !

Posted on: 15 Sep, 2017

रामेछाप जिल्लाभित्र हाल विजुली बल्न नसकेको क्षेत्रमा आगामी एक बर्षभित्र विद्युतीकरण हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । रामेछापमा रहेका नदी र खोलाबाट करिब १८ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने तथ्याङक रहेपनि रामेछाप अझै उज्यालो बन्न सकेको छैन् । उज्यालो बन्ने चरणमा रहेको छ ।

रामेछापको सुनापति र दोरम्बा गाउँपालिकामा बत्ती झ्याप्प झ्याप्प… जाने समस्या छ । यति सम्म कि ठूलो हावाहुरी आउदा धेरै दिनसम्म बिजुली नआउने समस्या खेप्नु परेको छ । रामेछाप जिल्ला भाग्यमानी जिल्लाभित्र पनि पर्छ । कारण सिन्धुली र सिन्धुपाल्चोकको लामोसाँघु दुई ठाउँबाट नै लाइन चार्ज भएको छ । केही समय अघि मात्र सिन्धुलीको लाइन चार्ज गरेपछि मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई निकै ठूलो राहत भएको छ ।


सुनापति र दोरम्बा गाउँपालिकामा भने सिन्धुपाल्चोकको लामोसाँघुबाट जडान गरिएको दुरी टाढा हुँदा बत्ती जाने समस्या यथावत नै रहेको छ । दोरम्बा र सुनापति गाउँपालिकालाई पनि मन्थली सबस्टेसनबाट नै विद्युत जडान गर्ने गृहकार्य भइरहेको छ । रामेछापवासीले खिम्तीमा रहेको हिमाल हाइड्रोपावरबाट नै मन्थली सबस्टेसनमा विद्युत जडान गर्नुपर्ने माग गर्दै आएका छन् । खिम्तीबाट नै लाइन जोडिएको खण्डमा बत्ती जाने समस्या नहुने र विद्युत प्राधिकरणलाई पनि फाइदा हुने माग गर्दे आएका छन् ।

पछिल्लो तथ्याङक अनुसार रामेछापमा ६ जना भन्दा बढी मानिसहरुको करेन्ट लागेर मृत्यु भएको छ । गाउँगाउँमा बिजुली गएको उत्साहसँगै दुर्घटनाको संख्या पनि बढ्न थालेपछि रामेछापवासी चिन्तित भएका छन् । यसै विषयमा नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीसँग गरेको कुराकानीः–

प्राधिकरणकै कमजोरीको कारण दुर्घटना भएको छैन्

रामेछापको खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका लगायतका अन्य क्षेत्रमा काठको पोल रहेको छ । ठूलो हावाहुरी आउदा काठको पोल ढल्न सक्ने सम्भावना हुन्छ । काठको पोल धेरै बर्ष टिकाउ पनि हुँदैन । अहिलेसम्म रामेछापमा करेन्ट लागेर मृत्यु भएका मध्ये कसैको पनि प्राधिकरणको कमजोरीको कारण मृत्यु भएको छैन् । करेन्ट लागेर मृत्यु हुनु दुःख विषय हो । यस बारेमा हामी गम्भीर छौं । जनतालाई जनचेतना जगाउने काम गर्ने सोच बनाएका छौं ।

जिर्ण काठको पोल विस्थापित गर्ने अभियान

हतारोमा बिजुली बाल्ने अभियानको कारण तत्कालिन अवस्थामा काठको पोल गाढेर नै गाउँगाउँमा बिजुली बाल्ने काम भयो । रामेछाप जिल्लाभित्र जिर्ण रहेका काठको पोल तत्काल फेर्ने अभियान अगाडि बढाएका छौं । जहाँ पुरानो काठको पोलकै कारण समस्या परेको त्यहाँ तत्काल पोल उपलब्ध गराउछौ । यो सँगै रामेछाप जिल्लाभित्र रहेका सबै काठको पोललाई विस्थापित गर्ने योजना रहेको छ ।

भाग्यमानी रामेछापवासी

रामेछापबासी भाग्यमानी नै भन्नु पर्छ । किनकी दुई स्थानबाट लाइन चार्ज भएको छ । रामेछापमा सिन्धुपाल्चोकको लामोसाँघु र सिन्धुलीबाट लाइन चार्ज गरिएको छ । यसो गर्दा लामोसाँघुको लाइन जादा सिन्धुलीको चार्ज हुन्छ । सिन्धुलीको जादा लामोसाँघुको लाइन चार्ज गरिन्छ । रामेछापमा अहिले धेरै लामो समय लाइन जादैन । किनकी दुवै ठाउँबाट लाइन चार्ज गर्दा फाइदा पनि भएको छ । लामोसाँघुबाट ल्याएको लाइनमा हावाहुरी जादा पटक–पटक समस्या आउने गरेको छ । यसको विकल्प भनेको रामेछापको लागि खिम्तीमा रहेको हिमाल हाइड्रोपावरबाट नै मन्थली सबस्टेसनमा विद्युत जडान गर्नु हो । मन्थलीबाट झण्डै १३ मिलोमिटर दुरीमा रहेको खिम्तीको लाइन जडान गर्दा सक्दा रामेछापवासीले गुणस्तरीय बिजुली बाल्न पाउछन भने विद्युत प्राधिरणको लागि पनि फाइदा नै हुन्छ । खिम्तीबाट विद्युत जडान गर्नको लागि रामेछापवासी नै लाग्नु पर्छ । नीतिगत रुपमा हामीले प्राधिकरणमा जानकारी गराइसकेका छौं ।

करेन्ट लाग्नबाट बच्ने पाँच उपाय

करेन्ट लाग्नबाट सावधानी अपनाउने हो भने सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । हुकिङ गरेर घरमा बिजुली नबाल्ने, मिटर जडान गरेर मात्र बिजुली बाल्ने, कही कतै चुहावट छ भने तुरुन्त नजिकैको प्राधिकरणका कार्यलयमा खबर गर्ने, कतै नाङगो तार देखिएको अवस्थामा प्राधिकरणलाई जानकारी गराउनु पर्छ । -रामेछाप न्युजबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!