एमालेको नजरमा कांग्रेस, माओवादी र मधेसकेन्द्रित दल

Posted on: 23 Sep, 2017

असोज ७, काठमाडौँ ।

कांग्रेस 

संविधान निर्माण र संशोधन, संघीयता, सीमा निर्धारणजस्ता विषयलाई अरू देशसँगको छलफलको एजेन्डा बनाउँछ ।

दुईवटा छिमेकी देशमध्ये एकसँग विशेष सम्बन्ध राख्दै एकातिर ढल्किन चाहन्छ । जातीय क्षेत्रीय अतिवादलाई आफ्ना क्षणिक स्वार्थका लागि बढावा दिन चाहन्छ । इतिहासका खासखास कालखण्डको लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेले पनि कांग्रेस एमालेप्रतिको प्रतिशोधी भावना, सत्तास्वार्थ, भ्रष्टता र राष्ट्रियताका प्रश्नमा अविश्वसनीय शक्तिका रूपमा देखिएको छ । 

देशको पहिलो राजनीतिक शक्तिको दाबी गर्दै आए पनि पहिलोचोटि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएको छ । माओवादीलगायतसँग वैशाखी टेक्ने स्थितिमा पुग्नु शक्ति क्षयीकरण र कमजोर आत्मविश्वासको उपज हो ।

माओवादी केन्द्र 

नीतिगत विचलन र परिणाम निरन्तर ओरालो लाग्दै जाने स्थिति यस निर्वाचनको अर्को चारित्रिक विशेषता हो । 

राजनीतिक अवसरवाद, एमालेविरुद्धको प्रतिशोध र कुण्ठा एवं विगतको गल्तीहरूको सम्भावित परिणतिबाट जोगिने मनोवैज्ञानिक दबाबका कारण आज नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय हितकाविरुद्ध विभिन्न शक्तिहरूबाट उपयोग हुने बिन्दुमा पुगेको छ । 

एमालेको विकासमा आफ्नो आधार संकुचन हुने र एमालेको विनाशबाट मात्र आफ्नो आधार फैलिने निष्कर्षमा पुगेको छ । यसले उसलाई आगामी दिनमा झनै दिशाविहीन र कमजोर बनाउँदै लैजानेछ ।

मधेसकेन्द्रित दल 

लामो समय संविधानको विरोध र जातीयता–क्षेत्रीयतामाथि आधारित भएर राजनीति गर्दै आएका छन् । बाह्य शक्तिको आडभरोसामा जातीय–क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित भएर सञ्चालन भएका उनीहरूको राजनीति जनतामा आएको जागरणसँगै क्रमशः कमजोर बन्दै गएको छ । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!