पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित

Posted on: 25 Sep, 2017

असोज ९, काठमाडौँ । पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । 


भगवानपुर गाउँपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् । उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत मात्रै पाएका छन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।

राजलाल यादव पूर्वविना विभागिय मन्त्री भएपनि उनको आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् ।

७२ वर्षीय यादव पूर्वजिल्ला सभापति हुदै संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसपछि उनी डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा विना विभागिय मन्त्रीसमेत बनेका थिए ।

यादव अहिले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् । वडा सदस्यमा निर्वाचित भएर पुनः जिल्ला समन्वय समितिको सभापति बन्ने उनको आकांक्षा रहेको बुझिएको छ । तर, सिरहाको १७ स्थानीय तह मध्ये ४ वटा गाउपालिकामा अध्यक्ष, उपाध्यक्ष र १ वटा नगरपालिकामा मेयरमा मात्र संघीय समाजवादी फोरमले विजयी हात पारेको छ । यसले गर्दा जिल्ला सभापति बन्ने उनको आकांक्षा हुने सम्भावना देखिदैन ।

सिरहामा ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र, ४ वटामा नेकपा एमाले र दुई वटामा कांग्रेस जितेको छ । मतपरिणाम सार्वजनिक भएपछि मात्रै उनी वडा सदस्यको उम्मेदवार भई निर्वाचित भएको बारे जिल्लामा चर्चा चलेको छ । सिरहाको राजनीतिमा चासो राख्नेहरु धेरैले उनको यो कदमलाई मन पराएका छैनन् । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!