गुल्मीमा केन्द्रीय नेताको प्रतिस्पर्धा रोचक बन्ने

Posted on: 29 Oct, 2017

कात्तिक १२, गुल्मी | प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीबाट विभिन्न पार्टीका केन्द्रीय नेता निर्वाचन प्रतिस्पर्धामा छन् । एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, माओवादीका युवा नेता चन्द्रबहादुर थापालगायतका नेता उम्मेदवार बन्ने सम्भावना छ 

गत स्थानीय तहको मतलाई आधार मानेर हेर्दा वाम गठबन्धन बलियो देखिएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशस भाका लागि चार क्षेत्र छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को (क)मा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वडा नम्बर २, ५ र ६ समावेश गरिएको छ । यस क्षेत्रमा वाम गठबन्धनको २० हजार चार सय ६३ मत छ । कांग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ को (ख) रुरु गाउँपालिका वडा नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर ७ देखि १४ सम्म राखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनले २२ हजार चार सय १६, कांग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत ल्याएका छन् ।

उता क्षेत्र नम्बर २ को प्रदेश (क)मा रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका समावेश गरिएको छ । यहाँ वाम गठबन्धनले १५ हजार आठ सय ७७, कांग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रको (ख)मा धुर्कोट, मदाने र मालिका गाउँपालिका छन् । गत स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले २० हजार आठ सय ९५ र कांग्रेसले ११ हजार तीन सय २३ मत पाए ।

जिल्लामा ०५१ सालदेखि नै वामपन्थी अगाडि छन् । ०५१ र ५६ सालमा गुल्मीका तीनवटै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । ०६४ सालको निर्वाचनमा दुईवटा क्षेत्र माओवादी र एउटा क्षेत्र एमालेले जितेको थियो । ०७० सालमा कांग्रेसले दुई क्षेत्र र एमालेले एउटा क्षेत्रमा विजयी हासिल गरेका थिए ।

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ र क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले बताए । गत स्थानीय तहको निर्वाचनमा एक लाख ८० हजार सात सय ७५ मतदाता थिए । -  टोपलाल अर्याल, गुल्मी -नयाँ पत्रिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!