कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकाल्यो

Posted on: 08 Nov, 2017

कात्तिक २२, बुटवल । कांग्रेस रुपन्देहीले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका ६ जना उम्मेदवारसहित पाटीका विभिन्न तहमा रहेका १८ जनाको पार्टी सदस्यता खारेज गरेको छ ।

कांग्रेसले पार्टीले अगाडी सारेका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एक जना प्रतिनीधि सभा सदस्यका उम्मेदवार तथा ५ जना प्रदेश सभा सदस्यका उम्मेदवार सहित उनीहरुका प्रस्तावक र समर्थक गरि १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।

पार्टीको विधान अनुसार रुपन्देही क्षेत्र नं. १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि कृष्णप्रसाद पौडेल तथा उनका प्रस्तावक खुमलाल गौतम र समर्थक निमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

क्षेत्र नं. १ को २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता पौडेलले  कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दै उम्मेदवारी दिएको बताएका थिए ।

क्षेत्र नं. ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं. ३ को २ बाट प्रदेश सभा सदस्यमा काँग्रेस विपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सभापति रज्जाकले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं. ३ :  प्रतिनीधि सभा सदस्यमा उम्मेदवारी दिएका अमृतलाल भट्टराई र उनका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं. ४ को २ बाट प्रेदश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उनका प्रस्तावक सिताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं. ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बमलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

पार्टीको टिकट वितरण प्रणालीमा असन्तुष्टि जनाउँदै नेताहरुले पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । सभापति रज्जाकले पार्टीको नीति तथा हित विपरितका गतिबिधि गर्नेलाई तत्काल कारवाही गरिने बताए । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!