चितवनको चुनावमा प्रचण्डका यस्ता छन् अवसर र चुनौती

Posted on: 10 Nov, 2017

कात्तिक २४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । 

गृह जिल्ला चितवन भए पनि यसअघि प्रचण्डले विगतका दुई संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट प्रतिस्पर्धा गरे । यसपटक उनले गृह जिल्ला चितवन रोजेका छन् ।  

एमाले–माओवादी केन्द्रको गठबन्धनका साझा  उम्मेदवार बनेका प्रचण्डलाई चितवनबाट विजयी बन्न जति अवसर छन्, त्यति नै चुनौती पनि देखिएका छन् ।

७ हजार मतले अगाडि

गत स्थानीय तह निर्वाचनको मत आँकलनमा चितवन–३ मा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ ।

यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन्छ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ जोड्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४ सय ६४ पुग्छ ।

यता भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।

राष्ट्रिय नेताको प्रभाव

प्रचण्ड नेपाली राजनीतिमा एक प्रभावशाली नेताका रूपमा परिचित छन् । राष्ट्रिय राजनीतिमा सधैं चर्चामा रहने र पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री हुनुका नाताले उनीप्रति मतदातामा आकर्षणसँगै उत्साह छ ।

 अवसर

स्थानीय तहमा ७ हजार मतले अगाडि हुनु

राष्ट्रिय नेताको प्रभाव

महानगरमा आफ्नै नेता

एमालेको दरिलो साथ

गृह जिल्ला

चुनौती

बाँदरमुढे घटना

समीकरण परिवर्तन

बलिया प्रतिस्पर्धी

कांग्रेस पकड क्षेत्र

थपिएका मतदाता

प्रचण्डले यसअघि विकासका लागि चितवनमा प्याकेज कार्यक्रम पारिदिएका कारण प्रभावशाली नेताको विजयले थप विकास हुन सक्ने अपेक्षा नागरिकले राख्नु उनका लागि सवल पक्ष हो । देशको राजनीतिको केन्द्रमा सधैं प्रभावशाली भूमिका खेल्न सक्ने प्रचण्ड भएका कारण उनीप्रति मतदाताको केही सकारात्मक सद्भाव देखिएको छ ।

महानगरमा आफ्नै नेता

प्रचण्डकी छोरी रेणु दाहाल प्रमुख भएको भरतपुर महानगरसमेत रहेको क्षेत्रमा उनको उम्मेदवारी छ । आफ्नै छोरी महानगर प्रमुख हुनुले पनि उनलाई निर्वाचनमा केही सकारात्मक प्रभाव देखिएको छ । महानगरकै १९ वटा वडा यस क्षेत्रमा पर्ने र मेयर आफ्नै रहनु उनका लागि राम्रो अवसर रहेको छ ।

एमालेको दरिलो साथ

एमालेको साथ प्रचण्डका लागि महŒवपूर्ण अवसर बनेको छ । उनको क्षेत्रमा पर्ने माडी नगरपालिकामा एमालेको राम्रो पकड छ । यो नगरको प्रमुखमा माओवादीले नै विजय प्राप्त गरेको थियो । माडीबाहेक भरतपुरका क्षेत्र पनि एमालेको राम्रै पकड छ । त्यसैले एमालेको साथ उनका लागि राम्रो अवसर हो । २०४८ सालमा वाम गठबन्धनका भीमबहादुर श्रेष्ठ र २०५१ सालमा अमिक शेरचनलाई समर्थन गरेको एमालेको सो क्षेत्रमा वर्चस्व छ ।

गृहजिल्ला

चितवन–३ प्रचण्डको गृह क्षेत्र पनि हो । मतदातामा प्रचण्डले अब चितवन छाड्दैनन् भन्ने आस देखिन्छ । प्रचण्डका नातागोता इष्टमित्रलगायत बाल्यकालका साथीहरूसमेत उनको विजयका लागि सकारात्मक

बनेको छ ।

बाँदरमुढे घटना

चितवन–३ मा तत्कालीन समयमा गुडिरहेको बसमा एम्बुस पड्काएर भएको बाँदरमुढे घटना भने प्रचण्डका लागि चुनौतीका रूपमा खडा भएको छ । २०६२ सालमा ३८ जनाको मृत्यु र ७२ जना घाइते हुनेगरी भएको बाँदरमुढे घटनाका केही पीडितहरूले प्रचण्डलाई सहयोग गर्न नसकिने बताउँदै आएका छन् । दोषीलाई कारबाही नगरेसम्म मानवीय संवेदनालाई हेरेर प्रचण्डलाई मतदान गर्न नसकिने पीडितहरूको भनाइ छ ।

समीकरण परिवर्तन

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेर छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख बनाएलगत्तै कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग तालमेल गरेपछि विगतमा उनीप्रति सहानुभूति राख्ने कांग्रेसी कार्यकर्ता रुष्ट छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट भरतपुर प्रमुखको उम्मेदवार भई फिर्तापछि प्रचण्डबाट वचन पाएका दिनेश कोइराला उनका लागि चुनौतीका रूपमा खडा छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरेपछि कांग्रेसका उम्मेदवार दिनेश कोइरालालाई प्रमुख पदको उम्मेदवारबाट फिर्ता गराइएको थियो । त्यतिबेला भरतपुरमा भएको संयुक्त चुनावी सभामा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालालाई उचित स्थान दिने वचन दिएका थिए । सोही वचनअनुरूप नेपाली कांग्रेसले कोइरालालाई चितवन–३ (क) प्रदेशबाट उम्मेदवार बनाएको छ । तर त्यतिबेला वचन दिने प्रचण्डले समीकरण परिवर्तन गरिसकेका छन् ।

बलिया प्रतिस्पर्धी

प्रचण्डका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिकका) केन्द्रीय उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे छन् । नेपाली कांग्रेसले पाण्डेलाई नै समर्थन गरेको छ । पाण्डे यसअघि सोही क्षेत्रमा पर्ने तत्कालीन क्षेत्र नं. ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पाण्डे यस क्षेत्रमा विकासवादी नेताका रूपमा लोकप्रिय छन् । उनले निजी लगानीमा समेत विकास निर्माण गर्दै आएको स्थानीय बताउँछन् ।

त्यसैगरी सशस्त्र द्वन्द्वमा माओवादीमा लागेर श्रीमती गुमाएका गोर्खाली भनिने टंक रेग्मी र सशस्त्र द्वन्द्वको समयमा युद्ध लडेर पनि उपलब्धि नभएको भन्दै प्रचण्डसँगै चुनावी मैदानमा रहेकी भगवती प्रसाईं थप चुनौती हुन् ।

कांग्रेस पकड क्षेत्र

भरतपुर महानगरपालिकाका २९ वडामध्ये चितवन–३ मा १९ वटा पर्छन् । स्थानीय तहको १९ वडाको मात्र हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमाले, तीनवटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेको छ । भरतपुर महानगरमा माओवादीले २५ र २६ वडामा वडाध्यक्ष मात्रै र वडा नं. १३ मा प्यानलसहित जितेको छ ।

माओवादीले वडा नं. २६ मा एमालेसँग तालमेल गरेर वडाध्यक्ष जितेको थियो भने बाँकी दुईवटा वडा आफ्नै तागतले जितेको हो । गत स्थानीय तहको निर्वाचनमा मतगणनामा विवाद भएपछि पुनः चुनाव भएको वडा १९ यही क्षेत्रमा पर्छ । जुन कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । यही क्षेत्रबाट गत संविधानसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारले भारी मतान्तरले विजय प्राप्त गरेका थिए ।

थपिएका मतदाता

यसअघिको मतदाता नामावली संकलन गर्ने क्रममा कांग्रेसले खासै चासो नदिए पनि पछिल्लोपटक नेपाली कांग्रेसले अभियानकै रूपमा फोटोसहितको मतदाता नामावली संकलनमा सक्रियता देखाएको थियो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएको छ । 

पहाडी क्षेत्रमा कम मत थपिएकाले चितवन–३ मा १५ हजार हाराहारी मतदाता थपिएका छन् । जसमा कांग्रेसको मत बढी भएको स्थानीय कांग्रेसी कार्यकर्ता दाबी गर्छन् । -राजधानी दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!