फेरि कोइराला परिवारको विरासत फर्काउने अठोट, के–के भयो मन्डिखाटारमा ?

Posted on: 17 Jan, 2018

माघ ३, काठमाडौँ । कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । 

कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको खबर नयाँ पत्रिकामा छापिएको छ ।


गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि अब सशक्त ढंगले पार्टीमा प्रस्तुत हुने सहमति गरेका छन् । 

मंगलबार गिरिजापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले खानासहित तीन घन्टा छलफल गरेका थिए ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको नमिठो हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको थियो । 

बिहीबारका लागि चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा बीपीपुत्र शशांक निर्वाचित भएका थिए । 

तर, त्यसयताका निर्वाचनमा कांग्रेस नेतृत्वकै कारण कमजोर भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको तीनै नेताको निष्कर्ष छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!