शीतलहर प्रभावित बिरामीको उपचारमा डा. गोविन्द केसी

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । 

चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । 


शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । 

केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिए

केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए । आजको कान्तिपुरमा खबर छ ।

केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!