एमाले-माओबादीबाट को-को बन्दैछन् मन्त्री, यस्तो छ दौडधुप

Posted on: 21 Feb, 2018

फागुन ९, काठमाडौं । माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ। 

एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको छ। माओवादीले बुधबारसम्म सरकारमा सहभागिता जनाउने तयारी गरेको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नै सरकारमा सहभागिता जनाउने संकेत दिए पनि उनी आफैं चितवनतर्फ गएपछि मन्त्रीहरू कसलाई पठाउने भन्ने औपचारिक टुंगो भएको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

माओवादीले रामबहादुर थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने सम्भावना छ। मन्त्रालयको संख्या १५ वटामा सीमित भए माओवादीका तर्फबाट बढीमा ६ जनासम्म मन्त्री बन्ने सम्भावना रहेको एक नेताले बताए। 

यसअघि एमाले र माओवादीबीच ३० देखि ४० प्रतिशतको बीचमा पदीय भागबन्डा गर्ने सहमति भएकाले त्यही मापदण्डका आधारमा मन्त्रीहरू पनि समावेश गराउने तयारी छ।

माओवादीबाट मन्त्रीमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत, मातृका यादव, जयपुरी घर्तीलगायतको चर्चा छ। 

दुई दलबीच कुन–कुन मन्त्रालय लिने भन्ने औपचारिक समझदारी भइसकेको छैन। यद्यपि सुरक्षा, विकास र सामाजिक सरोकार रहने मन्त्रालयको समूह निर्धारण गरी मन्त्रालय बाँडफाँट हुनेछ। नेताहरूका अनुसार प्रधानमन्त्री एमालेको भएपछि अर्थ, परराष्ट्र, सञ्चार मन्त्रालय उसैले राख्ने सम्भावना छ। गृह, भौतिक पूर्वाधारलगायतका मन्त्रालय माओवादीले लिने सम्भावना छ।

मन्त्री बन्न माओवादीमा जस्तै एमालेमा पनि धेरै नेताको आन्तरिक दौडधुप छ। पाँच वर्ष बन्ने स्थिर सरकार हुने भएकाले धेरै सांसद मन्त्री बन्ने लबिइङमा छन्। प्रधानमन्त्रीको दलले नै लिने करिब निश्चित भएको अर्थ मन्त्रालयमा जान एमाले नेताहरूको पहल तीव्र छ। 

पार्टीका महासचिव ईश्वर पोखरेल नै यस पटक सरकारमा जाने तयारीमा छन्। यसअघि उपप्रधानमन्त्रीसमेत भइसकेका पोखरेलको मुख्य ध्यान अर्थ मन्त्रालयमै छ। सचिव प्रदीप ज्ञवालीको पनि पहिलो ध्यान अर्थ मन्त्रालयमै छ।

एमालेकै स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि मन्त्री बन्ने र अर्थ मन्त्रालयमै जाने कोसिसमा छन्। यसअघि माधव नेपालको सरकारमा अर्थमन्त्रीकै रूपमा काम गरेका पाण्डे यसपटक पनि त्यही मन्त्रालयमा जाने प्रयासमा लागेका हुन्। 

त्यस्तै उपमहासचिव विष्णु पौडेल पनि अर्थमन्त्री भइसकेकाले उनको पनि नाम आएको छ। प्रधानमन्त्री ओलीले व्यक्तिगत रूपमा रुचाए पनि चार पटकसम्म मन्त्री भइसकेकाले पौडेललाई सरकारमा सहभागी नगराई पार्टी संगठनको काममा लगाउने सम्भावना पनि छ। 

राष्ट्रिय सभामा मंगलबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा पनि सांसद मनोनीत भएका छन्। उनको नाम पनि अर्थमन्त्रीका रूपमा चर्चा हुन थालेको छ।

एमालेको पदाधिकारी तहमा मन्त्री नभएको व्यक्तिका रूपमा सचिव योगेश भट्टराई छन्। त्यसैले यस पटक मन्त्रीमा उनको पनि दाबेदारी छ। तीन पटक कास्कीबाट लगातार सांसद जितिसकेका रवीन्द्र अधिकारी, सिन्धुपाल्चोकका शेरबहादुर तामाङलगायत कैयौं नेता मन्त्रीका आकांक्षी छन्। 

‘यस पटक काम गरेर देखाउनुपर्ने भएकाले कामकाजी खालका व्यक्तिलाई मात्र बढी प्राथमिकता दिने सम्भावना छ,’ एक नेताले भने, ‘त्यसैले व्यक्ति छनोटमा प्रधानमन्त्री आफैंले विशेष चासो दिइरहनुभएको छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!