इटहरीमा बलात्कार प्रकरण: पिडितको बैंक खातामा १८ लाख, ७ लाखको जग्गा !

Posted on: 25 Feb, 2018

फागुन १३, इटहरी | बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९/९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

मितेरी डेभलपमेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमिन किनेको पनि फेला परेको छ । पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलापत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो । लेनदेनमा परिवारका सीमित सदस्य मात्रै सहभागी थिए ।

घटनालाई सामसुम पार्न पीडितलाई २५ लाख रुपैयाँ दिइएको अभियुक्त मनीष श्रेष्ठले प्रहरीलाई बयान दिएका थिए । श्रेष्ठ र जकब लिम्बू दुवैलाई म्याद थप गरी अनुसन्धानमा राखिएको छ । घटना मिलाएको आरोपमा सार्वजनिक अपराध मुद्दा दर्ता गराइएका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विक सम्पर्क बाहिर छन् ।

इटहरी उपमहानगरपालिका २० तरहराकी १४ वर्षकी ती बालिकालाई उनका प्रेमी जकब लिम्बूले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते हलगडामा रहेको रोयल रिसोर्टमा लगेर साथी मनीष श्रेष्ठसँग मिलेर बलात्कार गरेको आरोप छ । बलात्कार जस्तो जघन्य घटनामा प्रहरीले नै मिलापत्र गराएको भन्दै गृहमन्त्रालयले सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!