यसरी भयो एकै रात तीनजनाको हत्या, दुई शव अझै गायब

Posted on: 01 Aug, 2018

साउन १६, राजविराज | सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।

पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । 

घटना भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ तर सूर्यनारायण र छोरी प्रतिभाको शव अझै भेटिएको छैन । सूर्यनारायणका भाइ र बुहारीसहित १० जनाजतिको संलग्नतामा उक्त घटना गराइएको प्रहरीको अनुमान छ । तीमध्ये पाँचजना अभियुक्त पक्राउ परेका छन् भने बाँकी फरार छन् ।  आजको नागरिकको पृष्ठ ३ म यो समाचार छापिएको छ ।

यसरी भयो हत्या

अभियुक्तले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार दाजुभाइबीचको पारिवारिक झगडा तथा अंश विवादका कारण सूर्यनारायण, पत्नी बेचनी र छोरी प्रतिभाको सामूहिक हत्या भएको हो ।

जेठ २६ गते साँझ गाउँकै हटियाछेउको बाँसघारीनजिक प्रमिलाबाहेक पक्राउ परेका धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह तथा फरार रहेका अभियुक्त पूर्वनियोजित रुपमा रक्सी सेवन गर्न बसेका थिए । उनीहरुले छोरीसहित हटियातिर हिँडेका सूर्यनारायणलाई पनि रक्सी खान बोलाए ।

पूर्वयोजनाअनुरुप अभियुक्तले थोरैथोरै खाए भने सूर्यनारायणलाई थपीथपी खुवाए । अँध्यारो गाढा भएपछि रक्सिको नशामा लट्ठिएका सूर्यनारायणको घाँटी थिचेर हत्या गरियो त्यसपछि छोरी प्रतिभाको पनि हत्या गरियो । दुवैका शवलाई बोरामा बाँधेर नहरको साइफनभित्र गाडिदिए अभियुक्तहरु घर फर्के । त्यति बेला रातिको करिब ९ बज्दै थियो । सूर्यनारायणकी चार महिनाको गर्भवती पत्नी बेचनी घरमा सुतिरहेकी थिइन् ।

एकैचोटि उनीमाथि आक्रमण भयो । उनको पनि घाँटी थिचेर हत्या गरियो । सुरुमा बेचनीको शव पनि साइफनभित्रै गाड्ने योजना थियो तर गाउँबाट झन्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र बेचनीको शव फालियो । सेफ्टीट्यांकीभित्र फालिएको शव कुहिएर गनाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र उक्त हत्याकाण्डको रहस्य खुलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!