रेडियोले रकम मागेको भनि लगाएको आरोप प्रमाणित गर्न अध्यक्ष कुवरको चुनौती

Posted on: 08 Sep, 2018

भदौ २३, अछाम | अछामको ढकारी गाउँपालिकामा भएको भनिएको भ्रष्टाचार र त्यस विषयमा रेडियो रामारोशन, चौरपाटी साप्ताहिक र कैलाशपोष्ट अनलाईनमा आएको समाचारका विषयमा रेडियो रामारोशनले पत्रकार सम्मेलन गरि प्रष्ट पारेको छ । 

गाउँपालिकाको विषयमा आएको समाचार २०७५ श्रावण १८ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रमाणका आधारमा लेखिएको पत्रकार सम्मेलनमा रेडियोका सञ्चालक समिति अध्यक्ष एकेन्द्र कुवरले जानकारी गराँउनुभयो । गाउँपालिकामा भएको भनिएको अनियमितताबारे समाचार बाहिर ल्याँउदा निराधार रुपमा रेडियोले पैसाको बार्गेनिङ गरेको भनि आरोप लगाएको पत्रकार सम्मेलनमा अध्यक्ष कुवरले बताँउनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै रेडियो सञ्चालक समितिका अध्यक्ष कुवरले गाउँपालिकाबारे समाचार आईसकेपछि आरोप ढाकछोप गर्नका लागि पत्रकार सम्मेलन गरि रेडियोलाई झुटा आरोप लगाईएको बताँउनुभयो । रेडियो कार्यक्रमका लागि प्रस्तावना पेश गरिएका डकुमेण्ट देखाएर १४ लाखको बार्गेनिङ गरेको भन्नु हास्यास्पद भएको कुवरको भनाई छ । रेडियोले समाचार आईसकेपछि पनि रकमको बार्गेनिङ गरेको भनि आरोप लगाएको भन्दै उक्त तथ्य बाहिर ल्याँउन चुनौती समेत दिएको छ । समाचारमा चित्त नबुझे सम्वन्धित निकायमा जान पाउने अधिकार रहेको समेत रेडियोले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!