निर्मला हत्या: छानविन गर्ने उच्चस्तरीय समितिका सदस्यद्वारा ज्यान सुरक्षाको माग !

Posted on: 11 Sep, 2018

भदौ २६, कञ्चनपुर | कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा दिंदै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् । 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।

उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा आशंका गर्दै राजीनामा दिएको बताएका छन् । ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानिनँ,’ केसीले भनेका छन्, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ।’

केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेका छन् । २५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ । उनले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको बताए ।

घटना छानविनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा, उनले आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेका छन् । 

जीवनरक्षाका लागि सहयोग गरिदिन उनले नेपाल सरकार, मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार उच्चायोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगत, नागरिक समाज र राजनीतिक दल लगायतलाई उल्लेख गरेका छन् ।

यो समाचार आजको कान्तिपुर  दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!