डराउँछन् निर्मलाका साथी

Posted on: 20 Sep, 2018

असोज ४, कञ्चनपुर | निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । 

आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । 

'हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं' ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, 'उनी नहुँदा पढ्न मनै लागिरहेको छैन । स्कुल पनि नआउँ जस्तो लाग्छ ।' जानकी र निर्मला एउटै बेञ्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनको यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुबैको कुरा मिल्थ्यो । 

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । 'त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ ।' भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, 'एक्लै आउन डर लागेर साथीहरु समूहमा मात्र आउँछौं ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!