डाक्टर बन्न काठमाडौँ आएका थिए प्रज्वल, बझाङमा परिवार बेहोस

Posted on: 28 May, 2019

जेठ १४, काठमाडौँ | मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्यो जस्तो छ । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ रे । उसलाई ओम अस्पतालमा लगिएको छरे, गएर

स्थिति बुझिदिनुपर्यो ।’ यति भनेर फोन काटियो । लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि फोन नउठेपछि उनी ओम अस्पतालतर्फ दौडिए । ‘ओम अस्पतालदेखि वीर ट्रमा सबैतिर गएँ, कतै भेटिन, उसलाई । टिचिङमा एउटा क्षतविक्षत शव ल्याएको भन्ने सुनियो, फेरि उतै दौडिए,’ उनले सुनाए ।

त्यो क्षतविक्षत शव प्रज्वलको हो भने रनिश्चित हुन उनले सोमबार बिहानसम्म कुर्नुपर्यो । नाकदेखि माथिको भाग नभएको, हातखुट्टा नभएको र घाटी छिनिन लागेजस्तो अवस्थामा उनले प्रज्वललाई भेटाएका थिए । प्रज्वल शाही उनै हुन् जसले आइतबार साँझको बम विस्फोटमा ज्यान गुमाएर सत्य उनका सबैभन्दा नजिकका मित्र हुन् ।

उनका अनुसार प्रज्वल ५ वर्ष अघिदेखि नेत्रविक्रम चन्द समूहसँग नजिक भएर राजनीति गर्थे । बझाङको जयपृथ्वी नगरपालिका १ का २६ वर्षीय उनी अध्ययनका लागि राजधानी छिरदेखि नै राजनीतिमा लागेका थिए । डाक्टर बन्ने उद्देश्य लिएर राजधानी छिरका उनले भर्खर ओैम समाज कलेज अफ हेल्थ साइन्सबाट एचए सकेका थिए । साथमा भाइबहिनी पनि सँगै राखेर उनी कलंकीमा डेरामा बस्दै आएका थिए । परिवर्तन युवाबाटै सम्भव छ भन्दै कुनै रोजगारी नगरी उनी ‘फुल टाइम’ राजनीतिमा होमिएका थिए । यसैबीचमा उनी धेरैपटक प्रहरीको हिरासतमा पनि परका थिए । एकपटक त २४ दिन जेल बसेका थिए ।

प्रज्वलको मृत्युको खबर सुनेपछि गाउँमा उनकी आमा, हजुरआमा र बुबा बेहोस भएको एक आफन्तले बताए । उनले भने, ‘भाइ राजनीतिमा लागेको छ भनेर गाइगुइ मात्रै सुनिएको थियो । राजनीतिक यात्राले उसलाई यहासम्म पुर्याउला भनेर हामीले सोचेका पनि थिएनौं ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेख्नुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!