बालकलाई बलि दिईएको हुन सक्ने तथ्य भेटियो, तीन आरोपी पक्राउ

Posted on: 29 May, 2019

जेठ १५, जनकपुर | अढाई वर्षीय बालक आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरको छ । तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् ।

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार आर्यन हत्याको अनुसन्धान धेरै कोणबाट भइरहेको छ । ‘शवको अवस्था, घटनास्थलको प्रकृति र पक्राउ परकाको बयानले बालकलाई बलि दिइएको हुन सक्ने भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ एसपी खनालले भने, ‘हत्याको ठयाक्कै कारण के हो भन्ने दुई–चार दिनमा प्रस्ट हुन्छ ।’

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनको गिरफ्तारीपछि जंगवीर फरार छन् । शत्रुघनलाई बालक बलि दिन जंगवीरले उक्साएको प्रहरीको आशंका छ । 

- यो समाचार आजको कन्तिपुर्मा अजित तिवारी र सन्तोष सिंहले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!