रवि लामिछाने समर्थक २२ जना पक्राउ, ४ धरौटीमा रिहा

Posted on: 22 Aug, 2019

भदौ ५, चितवन | पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये  २२ जना गिरफ्तार भएका छन् | भने जिल्ला प्रहरी चितवनका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन् | अझै १८ जना समर्थकलाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ | 

रवि लामिछानेलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते प्रदर्शनकारी चार जनालाई समाएको थियो। भने भदौ २ गते १० जना पक्राउ परेका थिए । त्यस्तै मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजाने क्रममा त्योदिन प्रदर्शनमा उत्रिएका ८ जना समातिएका थिए |

समातिएकामध्ये  १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ भने चार जना धरौटीमा छुटेका छन् | डीएसपी कोइरालाका अनुसार समर्थकको प्रदर्शन बुधबारबाट संख्या पातलो हुँदै गएको छ | प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो | सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो |

पक्राउ परेका व्यक्तिहरूको पक्ष/विपक्षमा नभई शान्ति कायम गर्न दलहरूले सर्वसाधारणलाई अपिल गरेका थिए | यसअघि आइतबार साँझ चितवन जिल्ला प्रशासनमा सर्वदलीय बैठक बसेर निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सुरक्षा अधिकारी, नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र राप्रपाका नेता–प्रतिनिधि सहभागी बैठकले तीन बुँदे निर्णय गरेको थियो  | दलहरूले अराजक प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए। रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार काठमाडौंमा पक्राउ गरेर चितवन प्रहरीले भरतपुर ल्याएको थियो। माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते राति नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले बरामद गरेको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा पुडासैनीले रविसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । -यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!