एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ । 

एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । 

प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । 

यसरी थाहा पायो बैंकले 

आजको राजधानी दैनिक लेख्छ–बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ । त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ । तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो । अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए ।


सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो । त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हेर्यो । सोही समय एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ । सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो । उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए । त्यसबेला सीसीटीभी लाइभ थियो । लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भएपछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गर्यो । त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो । अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ । त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!