चुनौती बन्दै डेंगु: दक्षिण एसियाभर एकै खालको भाइरसको संक्रमण

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौँ | एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन् । यसको खास उपचार नभएको उनीहरूको भनाइ छ । उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन् ।

‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा.बीएन नागपालले भने । लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए । समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा. लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्त्व जिम्मेवार रहेको बताइन् । डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ । 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!