सी भ्रमण सुरक्षाको लागि जनमुक्ति सेना पनि !

Posted on: 12 Oct, 2019

असोज २५, काठमाडौँ | चिनिया राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको सुरक्षा तयारी पूरा भएको छ । नेपालका चार वटै सुरक्षा निकाय र चिनिया जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्नेछन् । 

राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । विमानस्थलमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै राजकीय सलामी अर्पण गर्नेछ । त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् । विमानस्थल ओर्लेपछि उनी बस्ने होटल र सवारी रुटमा

कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

आधा घण्टा आराम गरेपछि सी नेपाली समकक्षी भण्डारीसंग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास जानेछन् । त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ । स्रोतले दिएको जानकारी अनुसार सीको भ्रमण अवधिभर रहनेगरी चीनबाट जनमुक्ति सेनाको कमान्डो टोली काठमाडौं आइसकेको छ । कति संख्यामा जनमुक्ति सेना आएका छन् भन्ने सुरक्षा अधिकारीले खुलाएका छैनन् ।

- मात्रिका दाहालले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!