ओलीबाट प्रचण्डलाई 'धोका'

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन् । 

पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो ।

एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।

त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ । दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए । दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए । पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेका थिए ।

- यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!