अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो, यस्तो छ कारण

Posted on: 21 Oct, 2019

कात्तिक ४, काठमाडौँ | काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । 

मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ । 

‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’

‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले राजधानीलाई बताए । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

- यो समाचार आजको राजधानी दैनिकमा  सविन शर्माले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!