रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु समेत !

Posted on: 31 Dec, 2019

पुष १५, काठमाडौँ | रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु समेत हुनसक्ने आजको नागरिक दैनिकमा समाचार छ ।

डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो । उनले त्यसलाई सामान्य रूपमा लिए । ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे । संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो । त्यहाँबाट पनि मंगलबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरियो । 

संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो । उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्र्याइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए । 

भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भाइरल रघाखोकीकै कारण यो महिना मात्र चारजनाको मृत्यु भइसकेको अस्पतालको भनाइ छ । शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. आचार्य भन्छन्, ‘भाइरल ज्वरो भनेर हेलचेक्र्याइँ गर्दा मर्नुनपर्नेहरू पनि मरिरहेको अवस्था छ।’

चिसोकै कारण दम बढ्ने र भाइरल संक्रमणले दमका बिरामीलाई एक्कासि दम बढ्छ । यो दमले कतिपयमा निमोनियाको रूप लिन्छ । यस्तो संक्रमणमा बिरामी ढिला अस्पताल आइपुगेकै कारण नहुनुपर्ने मृत्यु हुने गरेको आकस्मिक कक्षका डा। शाक्यको भनाइ छ। ‘बिरामी बेहोसमा पुग्ने अवस्था भएपछि मात्र अस्पताल आउने गरेको देखिन्छ,’ उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!