इरान–इराक र अमेरिकाबीच बढ्दो तनाव: कस्तो छ इराकमा नेपालीको अवस्था ?

Posted on: 07 Jan, 2020

पुष २२, काठमाडौँ । इरान–इराक र अमेरिकाबीच बढ्दो तनावका बीच इराकमा रहेका नेपालीहरुको अवस्थाको बारेमा चासो राख्दै आजको दैनिक पत्रिकाहरुले समाचार छापेका छन् । 

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारहरुलाई आ–आफ्नो देश फर्काउन थालिएको कान्तिपुर दैनिकले समाचार लेखेको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । 

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि स्वदेश पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएका टोलीमा नेपाली सात जना छन् । क्याम्पभित्र नेपालीहरु खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् । अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाएको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि इराकमा रहेका नेपालीसँग सम्पर्क बढाइरहेको छ ।

यसै बिषयमा नयाँ पत्रिका दैनिकमा पनि समाचारले प्राथमिकता पाएको छ । समाचार अनुसार अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीको इराकमा हत्या गरेपछि सरकारले इराकलगायत मध्यपूर्वी देशमा रहेका नेपालीको सुरक्षामा सतर्कता अपनाएको छ । पराराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहन र निरन्तर जानकारी गराउन राजदूतहरूलाई निर्देशन दिएको छ । 

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव तथा दुवै मन्त्रालयका सचिवसहित उच्च अधिकारीको बैठकपछि सबै दूतावासलाई सर्कुलर पठाइएको परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बताए । सर्कुलरमा सुलेमानीको हत्यापछि उत्पन्न परिस्थितिको विश्लेषण र भविष्यमा द्वन्द्व बढ्ने अवस्थामा नेपालीको उद्धार कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृत विवरण पठाउन राजदूतहरूलाई भनिएको छ । बग्दादको अवस्था जटिल भए पनि त्यहाँको मुख्य सरकारी क्षेत्र (ग्रिन जोन(मा तीनवटा कम्पनीमा कार्यरत नेपालीहरू सुरक्षित पाएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । कुर्दिस्तान र अन्य क्षेत्रमा भने सुरक्षा चुनौती छैन । इराकमा रहेका नेपालीको यकिन संख्या सरकारसँग छैन । त्यहाँ करिब २३ हजार नेपाली रहेको अनुमान छ । बग्दादमा अमेरिकी कम्पनीमा कार्यरत नेपालीलाई उच्च अधिकारीले क्याम्पभित्रै रहन आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!