कोरोना भाइरसको त्रास: नेपाली विद्यार्थीहरुले उद्धारका लागि आग्रह गर्न थाले

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | नोवल कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका विदेशीलाई पश्चिमा देशले फिर्ता लैजान थालेपछि नेपाली विद्यार्थीले उद्धारका लागि आग्रह गर्न थालेको कान्तिपुर दैनिकमा समाचार छ । 

ह्वाचोङ कृषि विश्वविद्यालय, वुहान युनिभर्सिटी अफ टेक्नोलोजी र ह्वाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले आफ्ना विदेशी विद्यार्थीका लागि बुधबार अलग–अलग सूचना जारी गर्दै चीनस्थित दूतावासको पहलमा फर्किने चाहनले विवरण उपलब्ध गराउन सूचित गरेका छन् । हस्टमा जिओटेक्निकल एन्जिनियरिङमा पीएचडी अध्ययनरत दिवंगर खोटेजाले विद्यार्थीको इच्छाले मात्रै नहुने भएकाले नेपाल सरकारले पहल गर्नुपर्ने बताए । ती विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयद्वारा जारी सूचनाका आधारमा धेरै देशहरुले विद्यार्थीहरु फिर्ता लैजान पहल गरेका हुन् । 

बुधबार अमेरिकाका कन्सुलरसहित २४० जनाले वुहान छाडेका छन् भने फ्रान्स, मोनाको, श्रीलङ्काले आफ्ना नागरिक फिर्ता लैजाने भएका छन् । त्यसैगरी जर्मनी, स्पेन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, भारत लगायतले फिर्ताका लागि तयारी थालेका छन् । 

बेइजिङस्थित नेपाली दूतावासले नेपाल सरकार र हुबेई प्रान्तको स्थानीय सरकारसँग् निरन्तर सम्पर्कमा रहेको बताएर शान्त पार्न खोजे पनि बन्दी जस्तै बस्नुपरेको चोङनान युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड लमा अध्ययनरत लोकन्थलीका आयुर फुयालले बताए । 

यसैबीच परराष्ट्र सचिव शंकर बैरागीले चीनको वुहानमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण स्थानीय विश्वविद्यालय वा अन्यत्र रहेका जोकोही नेपाली विद्यार्थीले घर फर्कने चाहे तत्काल उद्धार गरिने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!