प्रधानमन्त्रीको एक महिनाभित्र मृगौला प्रत्यारोपणको तयारी

Posted on: 19 Feb, 2020

फागुन ७, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । 

एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रत्यारोपणकै अन्तिम तयारी अन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ । 

उपचारमा संलग्न डा. अरुण सायमीले नयाँ पत्रिकासँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’ चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा. सायमीले भने । 

चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ । एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!