नागढुङ्गा–नौबिसे सुरुङ मार्ग: स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौँ | बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो । 

मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धादिङतर्फको निर्माण कार्य अवरुद्ध रहेको थियो ।

धादिङका प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ थापा, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेल र स्थानीय सरोकारवालाबीच सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो ।

आयोजना प्रमुख खरेलले सुरुङ मार्गको धादिङतर्फको प्रवेशद्वार सिस्ने भन्ने ठाउँमा रहेको जग्गा विवादबारे स्थानीयवासीसँग सहमतिपछि निर्माण कार्य सुचारु भएको जानकारी दिए । सरकारले निर्माण क्षेत्रमा पर्ने जग्गा श्री ५ को वायुगुठी अन्तर्गत रहेको हुनाले यस क्षेत्रका बासिन्दाले व्यक्तिगत अथवा रैकर जग्गाको तुलनामा कम मुआब्जा पाउने बताउँदै आएका छन् । जग्गा भोगचलन गरिरहेका कतिपयको लालपुर्जा पनि नरहेको बताइएको छ । 

सरकारले यस्ता जग्गाको मुआब्जा दिँदैन । स्थानीयवासीले भने फिल्डबुकका आधारमा अन्य जग्गा सरह नै आफूले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!