कोरोना चेक गर्न खोज्दा अस्पतालबाटै भागेका सहित ७४ नेपालीलाई पक्राउ गरि क्वारेन्टाइनमा

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौँ | सोमबार नेपाली संचार माध्यमहरुले पोर्चुगलमा रहेका एक नेपालीलाई नोबल कोरोना (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको शिर्षकमा समाचार छापे । जस अनुसार 

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको थियो । 

पोर्चुगलका स्थानीय संचार माध्यमहरुले प्राथमिकताका साथ छापेका उक्त समाचारको थप पुष्टि गर्दै आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । समाचार अनुसार पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले उनीहरुलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो । 

कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार पोर्चुगलमा रहेका पत्रकार गणेश पाण्डेका अनुसार आइतबार फारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेका थिए । ति नेपालीलाई उनीसँगै काम गर्ने साथीले अस्पताल ल्याएका थिए । चिकित्सकहरुले ति एक जना नेपालीलाई परीक्षण गर्ने क्रममा कोरोना लागेको निश्चित भएपछि उनलाई अस्पताल लैजाने नेपालीहरुलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन भनेको थियो । तर, चिकित्सकले 'कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ' भनेर अस्पतालमा पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए । त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई उक्त घटनाको जानकारी गराएका थिए । 

नेपालीहरु अस्पतालबाट भागेको सूचना पाएको अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेको थियो ।  जस क्रममा नेपालीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेछ । 

पक्राउ परेका उनीहरुलाई आइतबार बेलुकी इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलमा क्‍वारेन्टाइनमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!