कालापानीमा पहिलो पटक सशस्त्र प्रहरी

Posted on: 12 May, 2020

वैशाख ३०, दार्चुला | सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ । व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बर्षौंदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन । उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ ।’

सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए । छाङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बीओपी छाङरुका एक स्थानीयको घरमा भाडामा बस्ने उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधि पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने उनको भनाइ छ। सो क्षेत्रमा नेपाल प्रहरी चौकी छ तर ६ महिना मात्रै उनीहरू त्यहाँ बस्ने गरेका छन् । नेपाल प्रहरीले सीमा सुरक्षाको काम गर्दैन । 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट्  दैनिकमा सुन्दरसिंह धामीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!