विदेशबाट नेपाली फर्काउने प्रक्रिया अलपत्र

Posted on: 09 Jun, 2020

जेठ २७, काठमाडौँ | विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ । एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन ।

कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन् । अहिले संकलित आवेदनको आधारमा नै सरकारले तत्काल २४ हजार १ सय ४८ जनालाई ३१ फरक (फरक उडानबाट नेपाल ल्याउनु पर्नेछ । नेपाल फर्कन चाहेनको संख्या ५६ हजार ९३ छ । पहिलो चरणमा ३१ उडानबाट ल्याउने भनिए पनि उडान कसरी र कसको रायमा गर्ने भन्ने अन्यौल छ । पहिलो चरणमा प्रत्येक दिन पाँचदेखि सात उडानमा उनीहरूलाई ल्याउने र दोस्रो चरणमा नियोगहरूको प्राथमिकताको आधारमा निर्धारण गर्ने भनिएको छ ।

कुवेतले बिना भिसालाई आफैं नेपाल फर्काउने भने पनि सरकारले त्यसमा समन्वय गर्न नसक्दा समस्या उत्पन्न भएको दूतावास स्रोतले बतायो । त्यस्तै युएईबाट ल्याउने विषयमा भाडाको कुरा मिलिरहेको छैन । यसको कारण कमिसन रहेको बताइएको छ । कुवेतले सरकारले चार्टर गरेर पठाउने उडानको ग्राउण्ड ह्याण्डलिङ खर्चदेखि यहाँको समन्वयको विषयमा अलमलमा परेका हुन्। रोजगारदाता कम्पनीले खर्च गरेर कामदार पठाउने हुनाले सरकारले भनेको र तोकेको भाडा भन्दा फरक पर्ने भएपछि त्यसमा पनि सरकारी संयन्त्रले अलमल गराएको धारणा परराष्ट्र अधिकारीले बताए ।

परराष्ट्रले डाटा संकलनको काम गर्छ भने त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्छ । तर ल्याउने काम सिधा प्रधानमन्त्री कार्यालयको समन्वयमा नागरिक उड्यान मन्त्रालयले गर्ने हुनाले यसमा केही समस्या देखिएको हुनसक्ने ति अधिकारीले बताए । 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!