नेपालमा कोरोना पुनः संक्रमण दर शून्य

Posted on: 12 Jul, 2020

असार २८, काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएर घर फर्केकाहरुमध्ये फेरि कोही पनिव्यक्ति कोरोनाबाट संक्रमित भई उपचारका लागि अस्पताल भर्ना भएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । 

संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन ? यसमा भने विज्ञहरुको मत बाझिएको छ । एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ ।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘संक्रमण नहुने भने होइन, तर सचेत भने हुनै पर्छ ।’ 

नेपालमा पछिल्लो पटक संक्रमितको संख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ७० जना मात्र नयाँ संक्रमित थपिएको छ । गत २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । 

नेपालमा हालसम्म २ लाख ७९ हजार पाँच सय ९९ जनाको आरटीपिसीआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ । 

- यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!