तीन हजार तीन सय सरसफाइकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

Posted on: 01 Nov, 2020

कात्तिक १६, काठमाडौं । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उनले भने । बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउँछन् ।

यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उनीजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् ।

भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ । तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ । तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम मोलेर सरसफाइ कर्मचारी ‘फ्रन्ट लाइन’मा सक्रिय छन् । 

आफू बच्दै समाज र नगरवासीलाई फोहोरको सङ्क्रमणबाट हुने विभिन्न रोगको जोखिमबाट सरसफाइकर्मीले बचाइरहेका छन् । सरसफाइकर्मी नहुँदा हुन् त महामारीको यो बखतमा सहर फोहोर र अन्य महामारीको घर बनिसकेको हुने थियो ।

त्यसै पनि कोरोना भाइरसको महामारी फैलिरहेको बेला नगर, टोल सफा राख्नुपर्ने हुन्छ । नत्र कोरोनासँगै अनेक रोगको अर्को महामारीले मानिसको थप ज्यान लिन सक्ने उनी औँल्याउँछन् । यस्तोमा आफू बचेर अरूलाई बचाउँदै काम गर्नुपर्ने दोहोरो जिम्मेवारी सरसफाइ कर्मचारीमा आइपरेको पुजारी बताउँछन् । उनी बीएन्डपी कम्पनीका तर्फबाट फोहोर सङ्कलन गर्छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकासँगको समन्वयमा सार्वजनिक– निजी साझेदारीको अवधारणा अनुसार फोहोर सङ्कलन गरिँदै आएको उनी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!