मलेसियामा श्रमिक लैजाने अनिश्‍चित बन्दै,श्रमस्वीकृति लिएका ३५ हजार नेपाली अलपत्र

Posted on: 09 Nov, 2020

कार्तिक २४,काठमाडौँ  | नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ | यसअघि महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो |

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि नेपालीहरुका लागि उक्त श्रम गन्तब्य अनिश्चित बनेको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए | रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई समेत घर आउन दिएका छैनन् | कम्पनीले अवधि सकिएका श्रमिकलाई करार नवीकरणका लागि आग्रह गर्न थालेका छन् |

मलेसियाले बिदामा गएका नेपाली श्रमिक आउन पनि कडाइ गरेको छ। रोजगारदाताले अति आवश्यक पर्ने भन्दै आवेदन दिएपछि मात्रै अध्यागमनले अनुमति दिने भएको छ | वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतीक्षारत रहेका छन्। मलेसिया झन्डै १९ महिना बन्द भएको र  बल्ल खुलेर गति लिइरहेको अवस्थामा धेरै माग आउन थालेको संघका महासचिव सुजित श्रेष्ठले बताए | तर एउटा प्रक्रिया सकेर उड्न तयार नेपाली रोकिएको उनको भनाइ छ 

उनले भिसा प्रक्रिया समाप्त भइसकेका श्रमिकको खर्च भने फिर्ता हुनुपर्ने बताए। कोभिड–१९ महामारी सुरु भएपछि मलेसियाबाट १८ हजार नेपाली स्वदेश फिरिसकेका छन् | यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!