मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने

Posted on: 10 Nov, 2020

कात्तिक २५, काठमाडौँ | मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्नेछ ।

सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको छ । सुरुङ फिनसिङको काम सकिएको र हेडवक्र्सको काम भने भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ र सोही अस्थायी डाइभर्सनबाटै सुन्दरीजलमा पानी ल्याइने छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार हाल अम्बाथान र ग्याल्थुमको गेट जडान भइरहेको छ । पथान्तरणका क्रममा अम्बाथानको गेट भत्किएपछि चारवटै गेटको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो । सुरुङ परीक्षण र हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ फिनिसिङको एक वर्षे सम्झौताको म्याद यही कात्तिक १५ मा सकिएको छ । कोरोनाले प्रभावित भएकाले छ महिनासम्म म्याद थप गर्न सकिने समिति जनाएको छ । हेडवक्र्स सम्पन्न गर्ने सम्झौता २०७७ माघसम्म हो । 

काम भइरहेकाले सम्झौता अवधिमै सकिने सम्भावना रहेको पन्तको भनाइ छ । उनले भने, “हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अवधि पनि बाँकी छ । लकडाउनले प्रभावित भएको छ त्यसैले कामको प्रकृति हेरी म्याद थप हुनसक्ने सम्भावना पनि छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!