विमानस्थलका कर्मचारीको मिलिमतो: भिसाबिनै ७ नेपाली हङकङ पुगे

Posted on: 17 Dec, 2020

पुस २, काठमाडौँ | लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरक-फरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर (१ लाख ५१ हजार) का दरले करिब साढे १० लाख रुपैया जरिवाना तिराउने उल्लेख गरको छ । स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए ।


निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउदा नियम कडाइका साथ पालना गरेर मात्रै पठाउन भनेको छ । 

निगमका एक अधिकारीका अनुसार, बिनाभिसा नेपालबाट जानेहरुमा ३ पुरुष र ४ महिला छन् । उनीहरू सबै अहिले हङकङमै छन् । 'भिसा नभएका यात्रुलाई कुनै पनि वायुसेवाले बोर्डिङ पास नै जारी गर्न मिल्दैन' स्रोतले भन्यो । 'यसमा ती

यात्रुलाई बोर्डिङ पास दिलाउने निगमका कर्मचारी र त्यस दिन विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्टमा छाप लगाउने कर्मचारीहरूको मिलेमतो देखिन्छ ।' 

- यो समाचार आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!