फुटको सँघारमा जसपा

Posted on: 30 Apr, 2021

वैशाख १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।

हालै लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेललाई समर्थन गरेपछि 'प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको' जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा 'कसैलाई पनि कारबाही नगरिएको' उल्लेख गरिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत 'कोही कसैलाई कारबाही नगरिएको' जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले 'पार्टी निर्णय नै नभई लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि चार सांसदलाई कारबाही गरिएको' उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचना अनुसार सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।

राजनीतिक दलसम्बन्त्री ऐन २०६३ को दफा ३४ बमोजिम जसपाले चार सांसदलाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुगेको थियो । पत्रमा जसपाले पार्टी सदस्यता नै नरहनेगरी कारबाही गरेको उल्लेख भएको सचिवालयले निकालेको सूचनामा भनिएको छ ।

यद्यपि, जसपा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको जनाएका छन् । लुम्बिनी प्रदेश सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट सांसदलाई पदमुक्त गर्ने निर्णय नभएको उल्लेख गरेका हुन् ।

स्रोतका अनुसार शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि पार्टी फुटनजिक पुगेको छ । यसबीच कुनै सहमति नभए पार्टी स्पष्ट रूपमा फुट्ने निश्चित भएको जसपा एक नेताले बताएका छन् । लुम्बिनी प्रदेशको ‘भाडभैलो’देखि ‘संघीय सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा समेत पार्टीभित्र विवाद छ । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!