विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

Posted on: 02 Oct, 2021

असोज १६, काठमाडौँ | सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो। 

सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए। 

उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा जाहेरी दर्ताको आदेश माग्दै रिट निवेदन दर्ता गराइएको थियो। 

असोज १२ मा सर्वोच्च अदालतले प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश गरेको हो । रिट निवेदक दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनाललाई समेत विपक्षी बनाई रिट निवेदन दर्ता गराएकी थिइन्। 

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!