कुवेतको सेटिङ नमिलेपछि दर्जनौं नेपाली महिलाहरु दुबईमै, जिउडाल हेर्दै मोल तोकिन्छ

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पुर्याईएका हुन् । खासगरी कुवेत पठाउने भन्दै  दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।

खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले  घरेलु कामको वर्गमा  जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन । 

तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेको बताइएको छ । हाल यूएईमा थुप्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो  मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।

विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलंका हुँदै लैजाने गरेकोमा पछिल्लोपटक भिजिट भिसामा सिधै या थाईल्याण्ड लगायतका देश हुँदै यूएई पुराउने गरेको श्रोतको भनाइ छ । 


दलाल तथा मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला र किशोरीलाई  यूएईमा ल्याएर यहाँबाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउदै आएको छ । 

मानव वेचविखन मुद्दामा पक्राउ परेका अभियुक्तहरूले बयानका क्रममा यूएईमा पुर्‍याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउडाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ ।

- सुरेन भुजेलले मध्यान्ह राष्ट्रिय दैनिकमा समाचार लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!