नुवाकोटको हल्देकालिकामा ठूलो–छेटुन खानेपानी आयोजना सञ्चालनमा

Posted on: 17 Jun, 2018

असार ३ नुवाकोट | नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा सूर्यगढी गाँउपालिका वडा नं. ४ हल्देकालिकामा निर्माण गरिएको ठूलो–छेटुन खानेपानी आयोजना सञ्चालनमा आएको छ । 

रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत १० लाख रुपैयाँ र लाभान्वित उपभोक्ताबाट ३ लाख ८८ हजार रुपैयाँ बराबरको श्रमदान मार्फत निर्माण गरिएको खानेपानी आयोजनाको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उद्भाटन गर्नुभएको हो । 

उहाँले रेडक्रस मार्फत जिल्लामा सञ्चालनमा रहेका कार्यक्रमहरु प्रभावकारी रहदै आएको सन्दर्भमा हल्देकालिकामा खानेपानी योजना सञ्चालनमा सहयोग पुर्याएर  स्थानीयबासीलाई स्वच्छ पानी उपलब्ध गराउन पुर्याएको सहयोगको प्रशंसा गर्नुभएको छ । 

यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीले विकासको लागी योजना तथा कार्यक्रम सञ्चालन गर्न सरकारीस्तरबाट भइरहको प्रयासको साथै रेडक्रस लगायतको सस्थाँबाट नेतृत्व लिएर योजना सञ्चालनको काम नमूनायोग्य रहेको बताउनुभएको छ । रेडक्रसको सहयोग मार्फत उत्साहित भएका बासिन्दाले श्रमदान तथा विकास निर्माणमा देखाएको सक्रियताले पानीको अभाव समाधान र सामूहिक कार्यको भावना समेत जगाएको वडाध्यक्षहरुले बताएका छन् । 

ठूलो–छेटुन खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजन नेपालको अनुसार एक  किलोमिटर टाढाको दुरीमा रहेका दुई मुहान मार्फत ल्याएको पानीलाई ६ हजार लिटर क्षमताको ट्याङ्कीमा संकलन गरी वितरण गरिएको छ ।

२९ घरधुरीमा रहेका १९० जनसङ्ख्यालाई ९ वटा धारा मार्फत २४सै घण्टा खानेपानी सविधा उपलब्ध गराएको खानेपानी उपभोक्ता समितिका सचिव विष्णु न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस साविक क्षेत्र नं. २ का सचिव राम्जी पौडेलले खानेपानी व्यवस्थापनले सरसफाईमा सहयोग, टाढाको दुरीमा पानी लिन जानुपर्ने बाध्यताको अन्त्यले समय र श्रमको बचत, पानीको सहज पहुँचले घरको करेसाबारीमा तरकारी, फलफूल खेती लगाएर जिविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीका अनुसार नियमित कार्यक्रम सहित भूकम्पपछिको पुर्ननिर्माणको लागी ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ मार्फत आवास पुर्ननिर्माणमा अनुदान सहयोग, खानेपानी सरसफाई र स्वच्छता, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन, समन्वय र संलग्नता लगायतको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!