नुवाकोटको सदरमुकाम मै पानीको हाहाकार

Posted on: 21 Jul, 2018

साउन ५, नुवाकोट । सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ ।

पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० गते पहिराले पाइप बगाएको कारण वितरण गर्न नसकिएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएका स्थानमा अविरल वर्षाको कारण पहिरो निरन्तर खस्दा पानी ल्याउन समस्या भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय सचिव नवराज न्यौपानेले बताए । ‘हामीले पटक पटक मर्मत गरिसक्यौँ । दिनभरी मर्मत गर्यो, राति पानी पर्छ । पहिरो आउँछ । कहिले पाइप बगाउँछ, कहिले पाइप फुटाउँछ’, न्यौपानेले भने, ‘पहिरोको कारण पानीको अभाव भएको हो ।’

अविरल वर्षामा कमी नआएसम्म पानी विदुरमा ल्याउन समस्या हुने बताइएको छ । ‘सडक स्तरोन्नतिका कारण जताततै भित्ता खनिएको छ । खानेपानीको पाइप त्यही सडकको कुनाबाट ल्याइएका कारण सडकमा पहिराको समस्या आउनासाथ पानीको समस्या हुने गरेको छ’, उनले भने ।

वर्षात् लागेपछि धमिलो पानी वितरण गर्दै आएको उपभोक्ता समितिले पहिराको कारण अहिले त्यही धमिलो पानी पनि वितरण गर्न नसकेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएको उपभोक्ता कृष्णलाल श्रेष्ठले बताए ।

भूकम्पछि कतिपय ढुंगेधारामा पानी सुकेको तथा कतिपयमा पानीको मात्रा धेरै घटेको कारण उपभोक्ता मारमा परेका छन् । विदुर, बट्टार, इनारपाटी, ढुंगे, कोलनी गरी नगरपालिकाका पाँच वटा वडामा पानीको अभाव हुँदा १२ हजारभन्दा नागरिक प्रभावित भएका छन् । सदरमुकाम क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका र भाडामा बस्दै आएका धेरै प्रभावित भएका छन् । पानीको अभाव हुँदा महँगोमा ट्यांकरको पानी किन्न बाध्य भएको विदुरका होटेल सञ्चालक रोशन भण्डारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!