नुवाकोटमा क्याम्पसलाई एक करोडको जग्गा

Posted on: 11 Mar, 2018

फागुन २७, नुवाकोट (रासस) | तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ । 

हाल कक्षा १२ सम्म अध्ययन हुँदै आएको उक्त विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गराउन क्याम्पस चलाउन प्रक्रिया र पहल अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम शर्माले जानकारी दिनुभयो । क्याम्पसका लागि भौतिक संरचना निर्माण गर्न विद्यालय नजिकै रहेको दश रोपनी जग्गा प्रदान गर्ने घोषणा गर्दै शर्माले क्याम्पस सञ्चालनका लागि आर्थिक र कानुनी स्वीकृतिको पहल शुरु गरेको बताउनुभयो । 

उहाँका तर्फबाट क्याम्पसलाई उपलब्ध गराउन लागिएको दश रोपानी जग्गा स्थानीय क्षेत्रमा रु एक करोड मूल्य बराबरको छ । जग्गा प्रदान गर्ने घोषणा गरे पनि क्याम्पसको अनुमति पर्खाइमा भएकाले हस्तान्तरण हुन बाँकी छ । ‘असहाय, जेहेन्दार तथा जनजातिका लागि शिक्षा’ नामक संस्थाको अध्यक्षसमेत रहनुभएका शर्माले जिल्लाको ग्रामीण क्षेत्रका जेहेन्दार एवम् कमजोर वर्गका विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार उपलब्ध गराउँदै आउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!