मोटरसाइकलको साटो एम्बुलेन्स

Posted on: 24 Feb, 2019

फागुन १२, विदुर (रासस) | विदुर नगरपालिकाको चौथो नगरसभाले एम्बुलेन्स खरीद गरेर आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । 

नगरपालिकाले खरीद गर्ने एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि वडा नं ९ का वडाध्यक्ष शनी चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाइकल सुविधा नलिने घोषणा गर्नुभएको छ । वडाध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाइकल खरीदका लागि विनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकासँग आग्रह गर्नुभएको हो । 

विदुरका वडा नं ९ बाहेक सबै वडाले नगरपालिकाबाट विनियोजित रकमबाट मोटरसाइकल खरीद गरिसकेका छन् । नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि उपप्रमुख गीताकुमारी दहालद्वारा प्रस्तुत रु २२ करोड ४८ लाखको पूरक बजेट स्वीकृत गरिएको छ । 

बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयमार्फत थप बजेट कार्यान्वयनका साथै लक्षित क्षेत्रका लागिसमेत थप रकम विनियोजन गरिएको छ । पुस मसान्तसम्म चालुगत खर्चमा रु १९ करोड ६४ लाख र पूँजीगततर्फ रु १० करोड २६ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!