नुवाकोटको मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

Posted on: 31 May, 2017

जेठ १७, नुवाकोट ।  मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।  

६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित भए । उनीहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए । दलिततर्फ राममाँया सुनार र अल्पसङ्ख्यकतर्फ लालबहादुर घले निर्विरोध भए। महिला, दलित र अल्पङ्ख्यकको सहभागितासँगै मेघाङमा गाउँकार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य पुगेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए। 

यस्तै, तादी गाउँपालिकाको सदस्यमा काँग्रेसबाट बिमला विश्वकर्मा, अलैँची थापा, सम्झना तामाङ र नेकपा माओवादी केन्द्रबाट यशोदा कट्टेल निर्विरोध निर्वाचित भए। 

दलिततर्फ दीपक परियार र अल्पसङ्ख्यकतर्फ साबित्रा बराम चयन भए। निर्वाचन अधिकृत चन्द्रकान्त खनालका अनुसार तादी गाउँपालिकाको कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य निर्वाचित भएसँगै पूर्णता पाएको छ ।

जिल्लाको बाँकी स्थानीय तहमा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान रहेको छ । नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच महिला र दलित तथा अल्पसङ्ख्यक गरी तीनजनाको प्रतिनिधित्व हुने कानुनी व्यवस्था छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!