नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर घाईते

Posted on: 09 Apr, 2017

चैत २७, नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको बेलकोट–९ का २४ वर्षका मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षका श्रीकृष्ण न्यौपाने र २३ वर्षका राममणि न्यौपाने घाइते भएका छन् । 

गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुमरीबाट कुखुरा बोकेर काठमाडौँ जान लागेको बा २ ख ४२५१ नम्बरको मिनीट्रक झ्याङ्लीपोखरी–जुरेथुम सडकखण्ड पूरा गरी पासाङल्हामु सडकखण्डमा पुगेको केही दूरीमा नै ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा दुर्घटना भएको थियो । 

रातको समयमा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट २०० मिटर तल पुगेको थियो । दुर्घटनाबाट गाडी पूर्णरुपमा क्षति भएको छ भने करिब रु दुई लाखको कुखुरा पनि नष्ट भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!