नुवाकोटमा लाखौँ रकम ठगी गर्ने पक्राउ

Posted on: 18 Apr, 2017

बैशाख ५, नुवाकोट |नुवाकोटको विभिन्न स्थानका व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक बतासेका ज्याम्बल तामाङलाई आज पक्राउ गरेको छ । 

नुवाकोट दाङसिंहका तीन महिलासँग ठमेल व्यापार सङ्घको सदस्य बनाइदिने र त्यसबाट राम्रो कमाई हुने प्रलोभन दिएर रु २६ लाख ६४ हजार ठगी गरेको उजुरीका आधारमा तामाङलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

“गाउँका सोझासिधा महिलालाई व्यापार सङ्घको सदस्य बनाइदिने र विदेश सामाग्रीको बिक्री गरी दुई वर्षमा दोब्बर रकम कमाई हुने भन्दै पैसा उठाएको पाइयो” प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो । 

पक्राउ परेका तामाङले प्रहरीसमक्ष दाङसिङका माहिली तामाङसँग रु १० लाख ६४ हजार, सिर्जना लामासँग रु छ लाख ५० हजार र भीममाया तामाङसँग रु नौ लाख ४० हजार लिएको स्वीकारेका छन् । 

तामाङलाई प्रक्राउ गरेपछि दाङसिंहसहित अन्य स्थानबाट आफूलाई पनि ठगी गरेको भनी उजुरीहरू आइरहेकाले के कति जनासँग कति रकम ठगी गरेको भनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको साविकको बतासे–८ का लामा ‘सेते कुमार’को नामबाट नुवाकोटमा धामीझाँक्री पेसा गर्दै आएका थिए । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!